बैतडी — असल सेवाभाव, समर्पण र मानवीयताले कहिलेकाहीँ मान्छे पनि ‘भगवान’ बन्न सक्छ भन्ने ज्वलन्त उदाहरण बनेकी छन् बैतडीकी अनमी जानकी पुजारी। बैतडीको दुर्गम बस्तीमा एक नवजात शिशु जन्मिएलगत्तै श्वासप्रश्वास बन्द भएपछि उनले लगातार ६ घण्टासम्म कृत्रिम सास दिएर शिशुको ज्यान जोगाइन्।

सिगास गाउँपालिका–४ की लक्ष्मी धामी सुत्केरी व्यथाले पीडित भएपछि रातिको समयमा कान्धारको आधारभूत स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो। राति ९ बजे शिशुको जन्म त भयो, तर उसमा कुनै श्वासको लक्षण देखिएन। यति विकट ठाउँमा न गाडीको सुविधा थियो, न हेलिकप्टरको पहुँच।

न औजारको सुविधा, न अक्सिजनको पहुँच — तर दिलले गरेकी सेवा
बाँच्ने सम्भावना लगभग नदेखिए पनि अनमी जानकी पुजारीले हार मानेनन्। माउथ–टु–माउथ (मुखबाट मुखमा सास) विधिबाट शिशुलाई निरन्तर श्वास दिइरहिन्। बिहान ३ बजे शिशुले पहिलो पटक रुन थालेपछि मात्र उनीहरूलाई राहत मिल्यो।

हाल आमा र शिशु दुवैको अवस्था सामान्य रहेको छ। स्वास्थ्यकर्मी जानकी पुजारीका अनुसार, यस्तो कठिन अवस्थामा शिशुलाई बचाउन यो उनको पहिलो अनुभव थियो।

सामान्य स्वास्थ्यकर्मीको असामान्य योगदान
स्थान र साधनको अभावमा समेत ज्यानको बाजी लगाएर गरिएको यो काम सामाजिक सञ्जालमा व्यापक सराहना पाइरहेको छ। धेरैले उनलाई ‘भगवान जस्ती नर्स’ भन्दै सम्मान गरेका छन्।

स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहहरूमा समेत यस्ता समर्पित जनशक्तिलाई पहिचान र प्रोत्साहन दिनुपर्ने आवाज उठ्न थालेको छ। अनमी जानकी पुजारीले देखाएको समर्पण सम्पूर्ण स्वास्थ्यकर्मीहरूको लागि प्रेरणाको स्रोत बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय