चौरजहारी, रुकुम पश्चिम — चौरजहारी नगरपालिकाका एक जनप्रतिनिधिले आफूमाथि लगाइएको घुस लिएको आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै उक्त आरोप कपोलकल्पित र व्यक्तिगत प्रतिशोधबाट प्रेरित भएको बताएका छन्।

जनप्रतिनिधिका अनुसार, मिति २०८० साउन ८ गते पोखरामा काम विशेषले गएका बेला व्यक्तिगत आवश्यकताका लागि श्री मोहन शाहबाट रु. १ लाख सापटी लिएको र सो रकम मोबाइल बैङ्किङमार्फत आफ्नो बैंक खातामा प्राप्त भएको थियो। उनले उक्त रकम केही दिनमै नगद रूपमा फिर्ता गरिसकेको स्पष्ट पारेका छन्।

उनले आफूले अहिलेसम्म व्यक्तिगत रूपमा मोबाइल बैङ्किङ सेवा प्रयोग नगरेको दाबी गर्दै, सामाजिक सञ्जालमा देखाइएका मोबाइल बैङ्किङका विवरणहरू तोडमोड गरेर बदनाम गर्ने प्रयास भएको बताएका छन्। “सामान्य घर व्यवहारको ऋणलाई व्यक्तिगत रिस साध्न प्रयोग गर्नु निन्दनीय कार्य हो,” उनले भने।

त्यस्तै, नगर कार्यपालिकाको २०८० असार २५ गतेको बैठकबाट करार कर्मचारीहरूको म्याद थप गर्ने निर्णय भइसकेको र सोही आधारमा २०८१ असार र २०८१ पुसमा समेत दुई पटक म्याद थप गरिएको जानकारी दिएका छन्। तर, सम्बन्धित कर्मचारी मोहन शाहले पारिवारिक व्यवसायमा ध्यान दिएको, कार्यक्षमतामा कमी देखिएको र सेवाग्राहीबाट गुनासो आएको कारण २०८२ असार २७ गतेको बैठकबाट म्याद थप नगर्ने निर्णय गरिएको जनाइएको छ।

उक्त निर्णयपछि व्यक्तिगत रिसका कारण सापटी रकमको मोबाइल बैङ्किङ स्क्रिनसट तोडमोड गरी घुस लिएको आरोप लगाइएको उनको भनाइ छ।

उनले प्रस्तुत गरेका मुख्य तर्कहरू यसप्रकार छन्:
•म्याद थपको निर्णय २०८० असार २५ मै भइसकेपछि २०८० साउन ८ मा घुस मागिएको आरोप विरोधाभासी रहेको
•गैरकानुनी कार्यका लागि आफ्नै बैंक खाता प्रयोग गर्नु तर्कसंगत नहुने
•म्याद थप भइसकेपछि थप रकम लेनदेन भएको कुनै प्रमाण नदेखाइएको
•नगरपालिकामा ६/६ महिनामा २०० भन्दा बढी कर्मचारीको म्याद थप हुने भए पनि कसैसँग रकम मागिएको प्रमाण नभएको

उनले आफू सीमान्तकृत (दलित) समुदायबाट निर्वाचित जनप्रतिनिधि भएको उल्लेख गर्दै निर्वाचित भएदेखि नै षड्यन्त्र र चरित्रहत्या गर्ने प्रयासहरू हुँदै आएको दाबी गरेका छन्। यस घटनालाई पनि सोही श्रृंखलाको निरन्तरता भएको उनको भनाइ छ।

जनप्रतिनिधिले न्यायिक प्रक्रियामा पूर्ण विश्वास व्यक्त गर्दै निष्पक्ष छानबिनबाट सत्य बाहिर आउने अपेक्षा व्यक्त गरेका छन्। साथै, नगरवासी र शुभेच्छुकहरूलाई अफवाहमा नपर्न, धैर्य राख्न र सत्यको साथमा उभिन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय