रुकुम पश्चिम — आठबिसकोट नगरपालिका वडा नं. १० झाक्री सल्लामा भएको चोरी घटनाले स्थानीयवासीलाई आक्रोशित बनाएको छ। एक मेहनती किसानको घरबाट करिब डेढ कुन्टल तोरी चोरी भएपछि गाउँमा असुरक्षाको भावना झन् बढेको छ।

पीडित किसानले खेतमा दुःख गरेर उत्पादन गरेको तोरी घरमा सुरक्षित राखेको अवस्थामा, घरमा कोही नभएको मौका पारेर अज्ञात समूहले चोरी गरेको जनाइएको छ। किसानका अनुसार, उनीहरू केही समयका लागि घर बाहिर रहेका बेला घटना भएको हो। फर्किएपछि भण्डारण गरिएको तोरी पूर्ण रूपमा हराएको देखेपछि मात्र चोरी भएको थाहा पाइएको थियो।

स्थानीयवासीहरूले यस घटनाप्रति कडा असन्तोष व्यक्त गर्दै गाउँमा शान्ति सुरक्षा कमजोर बन्दै गएको बताएका छन्। “दिउँसै घर खाली हुँदा पनि सुरक्षित छैनौं, अब किसानले उत्पादन कहाँ राख्ने?” भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

यस घटनाले किसानहरूको मेहनतमाथि ठाडो प्रहार भएको भन्दै स्थानीयहरूले दोषीलाई तुरुन्त पत्ता लगाएर कडा कारबाही गर्न माग गरेका छन्। साथै, सुरक्षाका लागि नियमित गस्ती, निगरानी र स्थानीयस्तरमा सतर्कता बढाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

प्रहरीले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गर्दै दोषी पहिचानका लागि अनुसन्धान तीव्र बनाइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय