रुकुम पूर्वको सिस्ने गाउँपालिका–३, पाङ्गाकी १९ वर्षीया गर्भवती निर्मला खड्कामाथि श्रीमानले पेट्रोल छर्केर आगो लगाएको आरोप लगाइएको छ। काठमाडौँमा उपचारका क्रममा उनको मृत्यु भएको र आज मात्र शव रुकुम ल्याइएको हो।
घटना भएको केही दिन बितिसक्दा पनि आरोपी श्रीमान पक्राउ नपरेको भन्दै माइती पक्षले विरोध जनाएको छ। उनीहरूले घटनालाई ढाकछोप गर्न खोजिएको आरोप समेत लगाएका छन्। यही कारण, माइती परिवारले दोषी पक्राउ नहुँदासम्म शव नउठाउने अडान राखेका छन्।
निर्मला ८ महिनाकी गर्भवती रहेको पुष्टि भएको छ। उनको मृत्युले गाउँमा शोक र आक्रोश पैदा भएको छ। स्थानीयवासीका अनुसार यस्ता जघन्य अपराधमा पनि समयमै कारबाही नहुँदा महिला हिंसाका घटनाहरू निरन्तर दोहोरिन थालेका छन्।
पीडित पक्षले तत्काल दोषी पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।







