रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका बाढी प्रभावित परिवारहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बाढीको कारण जोखिममा रहेका यहाँका करिब ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।
गिजागार खोलाको कारण वडा नम्बर १२ को झिन्चौरका ४० घरपरिवार र वडा नम्वर ११ को सिमबजारका २० घरपरिवारलाई सुरक्षित स्थानमा सारिको हो । झिन्चौरका बिस्थापित घरपरिवारलाई स्थानीय कर्णाली वेभरेज ईन्डष्ट्रिज प्रा.लि.को परिसरमा सारिएको वडा अध्यक्ष खम्मे कुसारीले जानकारी दिनुभयो । सिमबजारका बिस्थापितहरु राडि बजार र गोईरीमा रहेका आफन्तको घरमा सरेको बताईएको छ ।
यसैबिच नेपाल रेडक्रस सोसाईटी रुकुम पश्चिम शाखाले घटनास्थलमै पुगेर बाढी पीडितहरुलाई राहत उपलब्ध गराएको छ। रेडक्रसका जिल्ला सभापति रमा गौतमका अनुसार २१ घर परिवारलाई तत्काल आवश्यक पर्ने राहत सामाग्रीहरु उपलब्ध गराईएको हो । ४२ वटा म्याट, २१ थान त्रिपाल, ५० थान डोरी, २१ थान डिग्निटी किडका सामाग्रीहरु बाढी पीडित परिवारलाई उपलब्ध गराईएको सभापति गौतमले जानकारी दिनुभयो ।
बाढी प्रभावित परिवारलाई राहत विरतणका साथै रेडक्रसको टोलीले उद्धारको कार्यमा समेत सहयोग गरेको छ ।
बाढीले घर क्षति गरेपछि घरभित्रका सामाग्रीहरुको व्यवस्थापन, परिवारलाई सुरक्षित स्थानमा सार्न रेडक्रसका स्वयमसेवकहरु परिचालन गरिएको छ । गएराती स्थानीय गिजागार खोलामा आएको बाढीले यहाँका तीन जना बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनुभएको छ। बाढीकै कारण नौ जना घाईते भएका छन् । मृत्यु हुनेहरुमा स्थानीय १० बर्षिया हितमाया पुन, आठ वर्षिया धनसा पुन र चार बर्षिया मनिषा सार्कीको रहेका छन् ।
बाढीले बगाउँदा स्थानीय ३७ बर्षिय डिल्ली बहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । उहाँको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । मृतकहरुको शव आठविसकोट नगर अस्पतालमै पोष्टमार्टम गरेर आफन्तले बुझेका छन् । बाढीमा परेर घाईते भएका नौ जनाको नगर अस्पतालमा उपचार भईरहेको छ ।
यसैगरी आजै प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखको टोलीले घटनास्थलको स्थलगत अवस्था अध्ययन गरेको छ । घटना लगत्तै राती नै सुरक्षा समितिको बैठक बसेर आवश्यक राहत सामाग्रीसहित टोली घटनास्थल पुगेको थियो ।