नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताएका छन्।
सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औं बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त धारणा राखेका हुन्।
‘नेपालको विदेशी मुद्रा सञ्चितिले १३ महिनाका लागि वस्तु तथा सेवाको आयातका लागि पर्याप्त छ। नेपालको विप्रेषण आप्रवाहको वृद्धि र वित्त बजार स्थिर रहेको छ,’ उनले भने।
उक्त फोरममा सार्क राष्ट्रका गभर्नरहरूको सहभागिता रहेको थियो। सार्क फाइनान्स गभर्नर्स फोरममा क्षेत्रीय वित्तीय सहयोग, त्यस क्षेत्रमा सहकार्यात्मक अनुसन्धान तथा क्षमता अभिवृद्धिको विषयमा समेत छललफल भएको जनाइएको छ।
गभर्नर अधिकारी अर्थमन्त्री विष्णु पौडेलेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सहभागी भएर विश्व बैंकको विभिन्न बैठकमा सहभागिता जनाउँदै आएका छन्।
यसैगरी, ‘साइडलाइन’ बैठकअन्तर्गत शुक्रबार नै गभर्नर अधिकारीले पाकिस्तानका गभर्नर जमेल अहम्मदसँग भेटवार्ता गरेका थिए।