उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन्।

बुधबार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका तर्फबाट समितिले गरेका कामहरुबारेको ब्रिफिङ लिएपछि उपप्रधानमन्त्री सिंहले पूर्वाधार बनाउने मात्रै नभएर तिनको उपयोग र संरक्षणमा पनि जोड दिनुपर्ने बताए।

बनाएका कतिपय ढल प्रयोगमा नआएको, पार्कहरुको संरक्षण हुन नसकेको गुनासो सुनिएको भन्दै मन्त्री सिंहले वाग्मतीमा बनेका संरचनाको संरक्षणमा पनि ध्यान दिन निर्देशन दिए । उनले बनेर पनि प्रयोगमा नआएका ढलहरुलाई तत्काल प्रयोगमा ल्याउन र पार्कहरुको संरक्षण गर्ने व्यवस्था गर्न निर्देशन दिए।

‘अहिले नागरिकले प्रश्न गरिरहेका छन्। ढल त बन्छ तर प्रयोगमा किन आइरहेको छैन। यसलाई करेक्सन गर्नुपर्‍यो । तत्काल गर्न सकिने काम अहिले गरौं,’ उपप्रधानमन्त्री सिंहले भने,‘ बनाएको ढलहरु प्रयोगमा त आउनुपर्‍यो। बनाएको छ, खर्च गरेको छ भनेर मात्र भएन, काम आएको छ कि छैन हेर्नुपर्‍यो।’

उपप्रधानमन्त्री सिंहले गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरुको दुरावस्था रहेको भन्दै ती पार्कको संरक्षण र रेखदेखमा ध्यान दिन पनि समितिलाई निर्देशन दिए।

बागमतीमा सफा पानी बगाउनका लागि नाग्मतीको ड्याम बनाउनुभन्दा अघि वैकल्पिक उपाय खोज्न पनि उनले समितिलाई निर्देशन दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय