आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरु प्रत्यक्षतर्फका उम्मेदवार छनौटमा व्यस्त छन्। यसैक्रममा समानुपातिकतर्फको बन्दसूची निर्वाचन कार्यालयमा बुझाउने काम पनि जारी छ।
रुकुमपश्चिमबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता गोपाल शर्मा प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस भएका छन् भने उनकी श्रीमती अञ्जु दहित समानुपातिक बन्दसूचीमा समेटिएकी छन्।
अञ्जुको नाम नेकपाको बन्दसूचीमा थारु क्लस्टरबाट दोस्रो नम्बरमा राखिएको छ। पार्टीले जेनजी आन्दोलनपछि परिवारवाद हटाएको र नयाँ तथा युवा नेताहरुलाई मात्र प्राथमिकतामा राखेको दाबी गरेपनि, एकै परिवारका दुवै उम्मेदवार बनेपछि पार्टीभित्र आलोचना बढेको छ।
नेकपाकी केन्द्रीय सदस्य लक्ष्मी पुनले फेसबुकमा लेखेकी छन्, “श्रीमान प्रत्यक्षतर्फ, निर्वाचन हारेकी श्रीमती समानुपातिकमा, वा रे पावर!”
अञ्जु दहितले २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दियाको बारबर्दिया नगरपालिकामा उपप्रमुखको रूपमा ११,१११ मत ल्याएर निर्वाचित भएकी थिइन्। त्यसपछि उनी २०७९ सालको प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दिएकी थिइन् तर ११,४९० मत लिएर तेस्रो भएकी थिइन्।
गोपाल शर्माले २०७४ सालमा रुकुमपश्चिमबाट कर्णाली प्रदेशसभा सदस्यका रूपमा निर्वाचित भएर आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।
पार्टीभित्रै अन्य नेताहरु पनि प्रत्यक्ष उम्मेदवार बन्ने आकांक्षी रहेका थिए, तर अन्तिम समयमा शर्मा दम्पती दुवैको उम्मेदवारी सिफारिस भएपछि विवाद चर्किएको छ।







