रुकुम पश्चिम ।
आठबिसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले नगरवासीलाई राजनीतिक स्वार्थका लागि बाँडिने झुट्टा आश्वासन र उधारो योजनाप्रति सचेत रहन आग्रह गर्नुभएको छ।
उहाँले एक सार्वजनिक अपिल जारी गर्दै हाल देशव्यापी रूपमा राजनीतिक उथलपुथल चरम अवस्थामा पुगेको र त्यसको असर आठबिसकोट नगरपालिकामा पनि देखिन थालेको बताउनुभयो। यस्तो संवेदनशील परिस्थितिमा केही व्यक्ति वा समूहले वडाका विभिन्न टोल, गाउँ तथा बस्तीहरूमा पुगेर आफ्नो राजनीतिक स्वार्थका लागि बजेट सुनिश्चित नभएका योजनाहरू बाँड्ने, झुट्टा आश्वासन दिने तथा गलत प्रलोभनमा पार्ने प्रयास गर्न सक्ने भन्दै सचेत गराउनुभएको हो।
उपप्रमुख शाहीले बजेट सुनिश्चित भइसकेका योजनाबाहेक अन्य कुनै पनि उधारो योजनासम्बन्धी काममा नलाग्न नगरवासीलाई अनुरोध गर्नुभएको छ। साथै, यस्ता झुट्टा आश्वासन र प्रलोभनका कारण उत्पन्न हुने कुनै पनि समस्याप्रति नगरपालिका जिम्मेवार नहुने स्पष्ट पार्नुभएको छ।
नगरपालिकाको समग्र विकास र सुशासनका लागि सबै नागरिक सचेत र जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
अपिल मिति: २०८२/०९/२१







