आठबिसकोट नगरपालिका–१०, ठूला–कोट | विकासका नाममा करोडौं खर्च भइरहेका बेला पनि इतिहास बोकेको ठूला–कोट दरबार अझै बिर्सिएर बसेको छ। नगरपालिकाको वडानं. १० मा पर्ने यस पुरानो दरबार क्षेत्रको संरक्षण, पुनःनिर्माण वा प्रवर्द्धनको नाममा अहिलेसम्म कुनै उल्लेखनीय कार्य अघि बढ्न सकेको छैन।
ठूला–कोट दरबार क्षेत्रले रुकुम पश्चिमको ऐतिहासिक गौरव बोकेको मानिन्छ। यहाँका बुढापाकाका अनुसार, यो क्षेत्र एक समय स्थानीय सत्ता र प्रशासनको केन्द्र थियो। तर, हाल आएर न नगरपालिकाको वाषिर्क योजनामा यसको उल्लेख छ, न कुनै बजेट विनियोजन गरिएको देखिन्छ।
हालै सार्वजनिक नगर कार्यपालिकाको दस्तावेज अनुसार, विद्यालय भवन निर्माण, अस्पताल भवन निर्माण, मन्दिर र चौतारी निर्माण, ज्ञानमाला जस्ता शिक्षाप्रसार कार्यक्रम जस्ता कामहरू सफलतापूर्वक अगाडि बढाइएका छन्। तर, त्यसै कागजातमा ठूला–कोट दरबार बारे कुनै स्पष्ट योजना, लागत अनुमान वा कार्यान्वयन विवरण छैन।
विगतमा नगरपालिका मातहतका केही नेताहरूले “ठूला–कोट दरबार क्षेत्रलाई पर्यटकीय स्थल बनाइने” आश्वासन दिएका थिए। तर बजेट कहाँ छ? योजना किन गायब भयो? भन्ने प्रश्न यतिखेर स्थानीयबीच विचलन र निराशाको विषय बनेको छ।
“विद्यालय छ, अस्पताल बनिराछ, मन्दिर पनि बन्यो। तर हाम्रो इतिहास बचाउने कुरोमा नगरपालिका किन मौन? “दरबार क्षेत्रमै बसेर हुर्कियौं। अहिले त थुप्रो मात्र बाँकी छ। योजना बनेन भने यो इतिहासै हराउने भयो।” —, स्थानियको गुनासो छ।
स्थानीय बासिन्दा, शिक्षक, पूर्व–जनप्रतिनिधिहरूले तत्काल ठूला–कोट दरबार पुनःनिर्माण वा संरक्षणको कार्य अघि बढाउन माग गरेका छन्। यदि नगरपालिकाले तत्काल योजना सार्वजनिक नगरेमा, जनदबाब अभियान सुरु गरिने चेतावनी समेत स्थानीय युवा समूहहरूले दिएका छन्।







