जनयुद्ध निकै तीव्र गतिमा थियो। गाउँदेखि सहर घेर्ने रणनीतिको फलस्वरूप लडाइँ सहर केन्द्रित भइसकेको अवस्थामा, पुराना सुरक्षित सेल्टरहरूमा खासै जोखिम थिएन। यस्तो बेला, पारिवारिक भेटघाटको केही अवसरहरू पनि जुरिरहेका थिए।
म र क. सुनिता, हालको पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा, आ–आफ्नो जिम्मेवारीसहित अलग–अलग कार्यक्षेत्रमा कार्यरत थियौं। नाबालक छोराछोरीसँग महिनौँ नदेखिएको पीडाले मन पोलिरहँदा सम्बन्धित इन्चार्जबाट एक हप्ताको बिदा स्वीकृत पाएर घर जाने तयारी गर्यौं।
तर गोजी रित्तो थियो। पैसाको नामोनिशान थिएन। आखिर हामीले त मुक्ति वा मृत्युको शपथ खाएर सिंगो परिवारसहित घर त्यागेका थियौं। निजी स्वार्थको रत्तिभर पनि चासो नराख्ने हामी क्रान्तिकारी कार्यकर्ताको लागि, १५० रुपैयाँको मासिक “आधारभूत खर्च” को केही थान स्याउबाहेक अरु विकल्प थिएन।
बिदा पाउनेबित्तिकै आन्तरिक माया र छोराछोरीप्रतिको तिर्सनाले मन घरतिर कुदिरहेको थियो। तर रित्तो गोजीले रोकिरह्यो। बच्चाको रहर पुरा गर्न नसक्ने चिन्ताले हामी दुवै गाउँको पाखामा एकान्तमा गइ, आँशु झार्यौं — कसैले नदेख्ने गरी। त्यसबेलाको सच्चा क्रान्तिकारी चेतनाले भोलिका सपनालाई मलजल त गर्यो, तर तत्कालको चाहना पुरा गर्न सक्दैनथ्यो।
त्यही बेला क. सुनिताले सुझाइन्:
“यहाँको स्याउ रुकुमकोटतिर राम्रै बिक्छ। एक डोको स्याउ बोकेर बेच्न जाऔं न। त्यसले घर पुग्ने खर्च जुट्ला।”
म भावनाको गहिराइबाट बाहिर निस्किएर उनका आँखामा आँखा जुधाएर टोलाएँ। त्यो योजना तत्कालिन अवस्थामा एकदमै व्यावहारिक लाग्यो। हामी तकसेराबाट करिब एक घण्टा टाढाको स्याउ फलेको लेखतिर लाग्यौं।
एरिया कमिटी सेक्रेटरीले दिएको थोरै बाटो खर्च, अनि डोकोसहित करिब २०० वटा स्याउ किनेपछि हाम्रो यात्राको सुरुवात भयो। उकालो चढ्दै क्युवाङ हुँदै काक्री झर्दै ‘भारी बोकेर जहान पाल्ने भरिया’जस्तै गरी हामी बास बस्यौं — थाकेका, तर हर्षित।
भोलिपल्ट बिहानै फेरि डोको बोकेर निस्क्यौं। बाटोमा मानिसहरूलाई महिला संगठनको व्यापार भनेर बुझाउँदै स्याउ बेच्यौं। स्याउहरू रुकुमकोटमै बिक्री भए।
त्यो रात हामी स्यार्पुखोला किनारको थलबिर ओलीको होटेलमा बास बस्यौं। दुई दिनको स्याउ व्यापारबाट कमाएको पैसाले खाना अर्डर गर्यौं र कोठामा थकान मेट्दै थियौं।
अचानक नजिकैको कोठाबाट केटाकेटीको कराउनु सुनियो:
“मरे बाबा… मरे मम्मी…!”
क. सुनिता घबराइन्। “कतै मेरा छोराछोरी पनि…,” भन्दै हिँड्ने तर्खर गरिरहिन्। त्यसबीच साहुले खाना बोलाए।
हामी खाना खाने कोठामा पुग्दा मेरो दुई छोरा र माइलो मामा — हाल नापी कार्यालय आठबिसकोटका प्रमुख — एक कुनामा चुपचाप भात खाइरहेका थिए। दुबै छोराको हातमा सेतो पट्टी बाँधिएको देखेर म झसङ्ग भएँ।
सोध्दा थाहा भयो — एकै दिन फरक–फरक ठाउँमा खेल्दा लडेका थिए। प्राथमिक उपचारपछि थप उपचार सम्भव नभएपछि उनीहरू आमाबुबालाई खोज्दै निस्किएका रहेछन्।
उमेरले १३/१४ वर्षका माइलो मामा, पैसा नहुँदा आफ्नै नाममा खाना अर्डर गरेर भान्जालाई आफ्नै हातले भात खुवाउँदै एक खुराककै पैसाले सबैको पेट आधा–अधूरी भराएर सुत्ने योजना बनाएका रहेछन्।
त्यो क्षण… सबै चुपचाप। आँसु रोकिएन। सुनिता बेहोसजस्तै भइन्। बच्चाहरू खुसीले चिच्याउँदै रोए। म मौन, स्तब्ध।
त्यो रात हामीले सुत्न सक्दैन थियौं। उनी झन् आमा — पीडाले पुरै विना बोझ थिइन्। तर क्रान्तिकारी योद्धाको कसम र प्रतिबद्धताले गर्दा, ती सबै पीडालाई छिचोल्दै, समयमै कार्यक्षेत्र फर्कियौं हामी।
त्यस स्याउको डोकोसँगै बोकेको रहेछु — माया, आँसु र क्रान्तिको इतिहास।
धन्यवाद।







