रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिज्युलास्थित नगर अस्पतालले अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरणको कमीबीच पनि पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३२ हजार ६ सय ६४ सेवाग्राहीलाई विभिन्न स्वास्थ्य सेवा दिएको छ।
२०७५ सालको असोज १२ गते उद्घाटन भएको यो अस्पताल हाल सुविधा सम्पन्न भवनबाट सञ्चालनमा आएको छ भने प्रारम्भमा साँघुरो संरचना र सीमित स्रोतसाधनबाट सेवा दिन थालिएको थियो। अस्पतालले उपलब्ध गराएको विवरणअनुसार, गत वर्ष आकस्मिक सेवा १,४११ जना, सुत्केरी सेवा ३४३ जना, परिवार नियोजन ५३९ जना, खोप सेवा १,३९१ जना, ओपीडी सेवा १६,११३ जना, भिडियो एक्स-रे ५,०४० जना, ल्याब सेवा ११,५०३ जना, ईसीजी ७६ जना, आँखा उपचार १,८१२ जना, स्वास्थ्य बीमा सेवा १७,८२० जना, रिफरल सेवा १,०२४ जना, क्षयरोग ४८ जना र कुष्ठरोग सेवा २ जनाले लिएका छन्। त्यस्तै मनोपरामर्श सेवा ९६७ जना, साधा एक्स–रे ४,४१४ जना, आइपीडी सेवा ८३१ जना, फिजियोथेरापी ४२३ जना, सुरक्षित गर्भपतन सेवा ८६ जना र गर्भ जाँच सेवा १,००० जनाले पाएको अस्पतालका निमित्त प्रमुख धनञ्जय रिजालले जानकारी दिनुभयो।
आठबिसकोट नगरपालिकाको पहिलो कार्यकालमा तत्कालीन नगरप्रमुख गोर्खबहादुर केसीको नेतृत्वमा स्थापना गरिएको यो अस्पतालले अहिले जाजरकोट, डोल्पालगायतका छिमेकी क्षेत्रबाट समेत बिरामी सेवा लिन आउने गरेका छन्। सेवा विस्तार भइरहे पनि उपकरण, जनशक्ति र नियमित औषधिको अभाव जस्ता समस्याले अझै पनि अस्पतालको सेवा प्रभावमा असर पारिरहेको देखिन्छ।







