काठमाडौं। महाशिवरात्री तथा सेना दिवस–२०८२ को विशेष अवसरमा आयोजित औपचारिक समारोहमा चन्द्रागिरी नगरपालिका–९, मच्छेगाउँ निवासी शान्ति महर्जन लाई प्रतिष्ठित “प्रधान सेनापति उत्कृष्ट समाज सेवा सम्मान २०८२” प्रदान गरिएको छ।

नेपाली सेनाद्वारा प्रदान गरिने उक्त सम्मान समाजमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिँदै आएको छ। यस वर्ष मच्छेगाउँ निवासी शान्ति महर्जनले दीर्घकालदेखि सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको सक्रियता, मानव सेवा तथा सकारात्मक अभियानको उच्च मूल्याङ्कन गर्दै सम्मानित गरिएको हो।

उक्त समारोहमा सम्मानपत्रसहित नगद रु. १,००,००० (एक लाख रुपैयाँ) बराबरको पुरस्कार पनि प्रदान गरिएको थियो। सम्मान ग्रहण पश्चात् महर्जनले नेपाली सेना परिवारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाजसेवामा अझ प्रतिबद्ध भएर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाली सेनाका उच्च पदाधिकारी, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नेपाली सेना केवल राष्ट्रिय सुरक्षामा मात्र सीमित नरही विपद् व्यवस्थापन, राहत उद्धार, स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वका कार्यमार्फत समाजसँग प्रत्यक्ष जोडिँदै आएको सन्दर्भमा यस्तो सम्मान विशेष अर्थपूर्ण मानिएको छ।

शान्ति महर्जनलाई प्रदान गरिएको यो सम्मान समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रेरणादायी कदमका रूपमा हेरिएको छ। स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म सामाजिक कार्यमा समर्पित व्यक्तित्वलाई कदर गर्ने परम्पराले समाजमा सेवा र समर्पणको भावना अझ बलियो बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय