बिनोद बटाला रुकुम पश्चिम सम्वाददाता
रुकुम । रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज पोख्रेलले समाजमा शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रण तथा रोकथाम पहिलो प्राथमिकता रहेको बताएका छन्।
शनिबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आठबिसकोट नगरपालिकामा आयोजना गरेको शान्ति सुरक्षा र अपराध नियन्त्रण सेवा प्रवाहसम्बन्धी सचेतना कार्यक्रममा उनले यस्तो बताएका हुन्।
जनताको समस्यामा हरेक समय सेवाका लागि आफु तयार भएको बताउँदै प्रहरी प्रमुख पोख्रेलले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा आम नागरिकको ठूलो भूमिका रहने बताए।
‘नागरिकको शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने आफ्नो प्रमुख दायित्व हो,’ उनले भने। कार्यक्रममा उनले सबैसँग समन्वय गरी इमान्दारितापूर्वक जनताको काम गर्ने उल्लेख गरे।
उनले आठबिसकोटमा लागुऔषध प्रयोगकर्ता बढेकाले स्थानीय सरकारले प्रहरीसँग सम्वनय गरेर लागुऔषध नियन्त्रणमा सहयोग आग्रह गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले शान्ति सुरक्षा भयो भने सेवा प्रवाह गर्न सजिलो हुने बताउँदै शान्ति सुरक्षा कायम भयो भने मात्रै शान्ति सुरक्षा अपराध नियन्त्रणमा सजिलो हुने उल्लेख गरे।
कार्यक्रममा जिल्लास्थित सरकारी गैरसरकारी संघसंस्थाका प्रतिनिधि, राजनीतिक दल, शिक्षक विद्यार्थी, कर्मचारी तथा जनप्रतिनिधिलगायतको उपस्थिति थियो।







