काठमाडौं, साउन ३१ : संघीय संसद्अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ।
आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अब बैठकमा शून्य समय नियमित चलाउनेबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको जानकारी गराए।
यसअघि राष्ट्रियसभामा सातामा तीन दिन शून्य समय चलाइने गरेको थियो।
आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरुले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायत समस्या सिर्जना भएको विषय उठाउए।
राष्टियसभाको आजको बैठकमा सांसदहरु पदमबहादुर परियार र विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथिको विभेद अन्त्य हुन नसकेको बताए।
सांसद रुक्मिणी कोइरालाले ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्धभत्तालाई उनीहरुको घरघरमा पुर्याउनुपर्ने व्यवस्था कार्यान्वयन गरिनुपर्ने बताइन्।
यस्तै विष्णुकुमारी सापकोटाले बाढी र पहिरोका कारण ज्यान गुमाउनेहरुका परिवारलाई राहत र क्षतिपूर्ति दिइनुपर्ने, घाइतेको स्वास्थ्य उपचार र विस्थापितलाई पुनःस्थापना गरिनुपर्नेमा जोड दिइन्।
सांसद कृष्णप्रसाद अधिकारीले नुवाकोटको बञ्चरेडाँडास्थित ‘ल्यान्डफिल्ड साइट’ वरपरका बस्तीहरु विभिन्न रोगको जोखिममा रहेको विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराए।







