काठमाडौं – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफ्ना कर्मचारीलाई भदौ महिनाको तलब मात्र होइन, दशैँ बोनससमेत उपलब्ध गराउने घोषणा गरेका छन्।
एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, “मसँग आबद्ध भाइबहिनीहरूको भविष्यका लागि लड्नुपर्ने छ। काम गर्न नपाए पनि उहाँहरूको तलब दिन्छु। भदौको तलब मात्र होइन, दशैँ बोनस पनि पठाउँछौं।”
गुरुङले आफ्ना कर्मचारीलाई परिवारको सदस्यको रूपमा लिँदै थपे, “म चाहिँ दशैँ मनाउने पक्षमा छैन। तर मेरा बच्चाहरू, जो मसँग आबद्ध छन्, उहाँहरूले दशैँ मनाउनुपर्छ। त्यसैले दशैँको बोनस पनि पाउँछन्।”
उनका अनुसार, तीन महिनाभित्र काठमाडौंका केही स्टोर र १० महिनाभित्र सबै स्टोर सञ्चालनमा ल्याइनेछ। क्षतिको यकिन मूल्याङ्कन अझै नभए पनि करिब १५ अर्ब रुपैयाँसम्म क्षति पुगेको हुन सक्ने उनले बताए। “सबै जलेर खरानी भएको छ, लुटेर सखाप भएको छ। फेरि उभिन राम्रै मिहिनेत गर्नुपर्नेछ,” गुरुङले भने।







