समचार संकलनका क्रममा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा पत्रकार बलेन्द्र ओलीमाथि अपमानजनक व्यवहारप्रति प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पश्चिमले आपत्ति प्रकट गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आजै भएको प्रदेश विशेष कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धी अन्तक्र्रिया तथा छलफल कार्यक्रममा समाचार संकलन गर्न पुगेको राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार ओलीलाई फोटो तथा भिडियो खिच्न नदिई कार्यक्रमबाट निस्केर जान भन्दै अपमान गरिएको थियो।

मुख्यमन्त्री यमलाल कँडेललगायत पालिका प्रमुखहरू नै उपस्थित भएको कार्यक्रममा पत्रकारमाथि भएको अपमानजनक व्यवहारको प्रेस सेन्टरले विज्ञप्ति निकालेर विरोध गरेको हो। संविधानले प्रदान गरेको प्रेस स्वतन्त्रताको उलंघन हुनु र पत्रकारमाथि दुर्व्यवहार आफूहरुलाई स्वीकार्य नहुने प्रेस सेन्टरले जनाएको छ।

‘पत्रकारिताको कार्य समाजलाई सत्य, तथ्य र निष्पक्ष जानकारी प्रदान गर्नु हो। संविधानले प्रदान गरेको प्रेस स्वतन्त्रताको उल्लंघन हुनु पत्रकारमाथि दुर्व्यवहार हुनु कुनै पनि हालतमा स्वीकार्य र छैन,’ अध्यक्ष देवकुमार ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रममा सहभागिताका लागि जिल्ला प्रशासन कार्यालयबाट निम्तो हुनु र एउटा सार्वजनिक कार्यक्रमको फोटो, भिडिओ खिच्न नदिनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो। कर्णाली प्रदेशका माननीय मुख्यमन्त्रीज्यूबाट भएको यो व्यवहार प्रेसको मर्म र स्वतन्त्रताको अपमान हो र यसले सम्पूर्ण त्रकारिता जगतलाई निराश बनाएको छ।’

प्रेस सेन्टरले यस घटनाको कडा शब्दमा निन्दा गर्दै, भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ। उसले पत्रकारलाई समाचार संकलनमा सहज वातावरण उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको जनाएको छ।

पत्रकार ओलीमाथिको दुर्व्यहारको विरोधस्वरुप कणाली प्रदेश सरकारले जिल्लामा आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुने प्रेस सेन्टर जिल्ला समन्वय समिति रुकुम पश्चिमले घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय