नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन्।

प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताएका हुन्।

‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो। आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो। त्यो एजेण्डा माओवादीसँग मात्रै छ,’ उनले भने, ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं।’

अध्यक्ष दाहालले संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिने बताए।

आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउन केन्द्रीय एजेण्डा हुने उल्लेख गर्दै उनले यसकै माध्यमबाट समाजवादमा पुग्न सकिने विश्वास पनि व्यक्त गरे।

सबै क्षेत्रमा युवालाई साथमा लिएर नयाँ एजेण्डा पूरा गर्न सकिने उनको भनाई थियो। अध्यक्ष दाहालले पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताए।

‘पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ,’ उलने भने, ‘पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५–३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु।’

उनले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन एकढिक्का भएको बताए। समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्ने क्रम पनि अघि बढ्ने उनले जनाए।

अहिले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको बताउँदै सरकारमा जानुभन्दा अब पार्टी निर्माण कार्यमा लागिरहेको उल्लेख गर्दै उनले आफू सरकार हुँदासमेत चार महिने अभियान सञ्चालन गरी पार्टीलाई सुदृढिकरण गरेर लैजाने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय