गण्डकी प्रदेशमा एमाले र नेपाली कांग्रेसबीच सरकार गठनको सहमति भएको छ । लामो रस्साकस्सी र आन्तरिक खिचातानीकाबीच गण्डकी प्रदेशमा एमाले र नेपाली कांग्रेसबीच सरकार गठनको सहमति भएको हो।
गण्डकी प्रदेशमा नौ वटा मन्त्रालय बनाउने गरी एमाले र नेपाली कांग्रेसबीच सहमति भएको छ । सहमति अनुसार अब एमालेबाट चार जना मन्त्री बन्ने छन्।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या नौं भन्दा नबढाउने भनेपछि त्यति नै कायम गर्ने सहमति भएको हो। मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र जितेका राजीव गुरुङ (दीपक मनाङे)को मन्त्री पद भने कायमै रहनेछ।
कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले यही सहमति बमोजिम अबको २÷४ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भैइरहेको जानकारी दिए।
नौ मन्त्रालयमा सहमति भएसँगै अब सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय बनाउने र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट मनाङेको जिम्मेवारी हेरफेर गर्ने योजना छ।
अहिले कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा, आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ छन्।
फणीन्द्र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक मन्त्री छन्। फणीन्द्रको मन्त्रालय यथावत राखेर मनाङेको भौतिक पूर्वाधार मन्त्रालयसहित लिएर एमाले सरकारमा जाने एक नेताले बताए।







