काठमाडौं, साउन १६ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रुकुम (पश्चिम)–काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला भव्य रूपमा सम्पन्न भएको छ। उक्त भेलाबाट १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा शुभद्रा दाहाल चयन हुनुभएको छ भने उपाध्यक्षमा निर्मला के.सी. र संगीता शर्मा, सचिवमा नमुना बाठा, सह-सचिवमा गीता महत तथा कोषाध्यक्षमा पुर्णकला के.सी. चयन हुनुभएको छ। अन्य सदस्यहरूमा विभिन्न क्षेत्र, पेशा र समाजमा सक्रिय महिला सहभागी छन्।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष शुभद्रा दाहालले महिला आन्दोलनलाई अझ सशक्त, संगठित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महिला संघमार्फत उत्पीडनविरुद्धको संघर्षलाई अझ तीव्र बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा उपस्थित नेतृहरूले महिला जागरण, समानता, नेतृत्व विकास र सामाजिक न्यायका पक्षमा संघको भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
यस समितिले काठमाडौं उपत्यकामा बसोबास गर्ने रुकुम (पश्चिम)का महिला कार्यकर्ताहरूबीच सहकार्य, समन्वय र संगठनात्मक एकता बलियो बनाउने अपेक्षा गरिएको छ। साथै, संगठनका नीति–कार्यक्रम र अभियानहरूलाई राजधानीमा सशक्त रूपमा अघि बढाउने भूमिका यस समितिले निर्वाह गर्ने विश्वास लिइएको छ।
समिति गठन कार्यक्रममा संगठनका पुराना नेतृहरू, समाजसेवीहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नयाँ कार्यसमिति गठन भएकोमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का सम्पूर्ण तह र कार्यकर्ताहरूबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।







