हिंसात्मक प्रदर्शन चर्किएपछि देश छाडेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना चढेको हेलिकप्टर भारततर्फ उडेको बीबीसीले जनाएको छ।

आइतबारदेखि हिंसा चर्केपछि प्रधानमन्त्री हसिनाले देश छाडेकी हुन्। बीबीसीका अनुसार प्रधानमन्त्री निवासबाट उनी चढेको हेलिकप्टर भारततर्फ उडेको र हेलिकप्टरमा हसिनासहित बहिनी शेख रेहाना पनि छन्। अहिले गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेको जनाइएको छ ।

बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले जनाए अनुसार प्रधानमन्त्री निवासमा अहिले भिड जम्मा भएको छ । प्रदर्शनकारीले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ।

बंगलादेश हिंसामा आइतबार मात्र कम्तीमा ९६ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको । ‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ को ब्यानरमा विद्यार्थीले प्रदर्शन गर्दै आएका थिए । सोमबार मात्रै कम्तीमा चार लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री शेख हसिनाले भने राजीनामा दिएर देश छाडेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय