प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा दुई तिहाईको विश्वास प्राप्त गरेका छन्।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आइतबार विश्वासको मत लिएका थिए। त्यसक्रममा प्रतिनिधिसभामा उनको पक्षमा दुई तिहाई सांसदले समर्थन गरेका हुन्।
प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये ओलीको पक्षमा १८८ मत परेको थियो। विपक्षमा ७४ मत पर्यो भने मत दिन्न भन्नेमा १ मत परेको छ । प्रतिनिधिसभामा १८४ मतले दुई तिहाई पुग्छ। ओलीले त्यसभन्दा बढी मत पाएका छन्।
गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भइ सोमबारबाट कार्यभार थालेका प्रधानमन्त्री ओलीले संविधानको प्रावधानअनुसार विश्वासको मत लिएका हुन्।
प्रतिनिधिसभामा ओलीको पक्षमा कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा लगायतका दलको समर्थन छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी चाहिँ ओलीको विपक्षमा उभिए।







