रुकुम पश्चिम, आठबिसकोट नगरपालिका वडा नं ९ मा अवस्थित नगर अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ। अस्पतालमा आवश्यक बेड खाली नभएकाले नयाँ बिरामीलाई राख्नै नसक्ने अवस्था बनेको वडा अध्यक्षले जानकारी दिएका छन्।
वडा अध्यक्ष जनक बतालाका अनुसार, अहिले दैनिक दर्जनौँ बिरामी उपचारका लागि आउने गरेका छन्। तर, सीमित संरचना र जनशक्तिका कारण अस्पताललाई व्यवस्थापन गर्न हम्मे–हम्मे परेको छ।
“बेड नपाएर बिरामीलाई भुइँमै राख्नुपर्ने अवस्था आउन थालेको छ। यो समस्या तत्काल सम्बोधन नगरे प्रदेश र संघीय सरकार दुवैलाई गम्भीर असर पर्नेछ,” वडा अध्यक्ष बतालाले बताएका छन्।
एकातिर देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ भने अर्कोतिर बिरामी उपचार नपाएर हैरान भएको अवस्थाले स्थानीयवासी थप निराश भएका छन्। तत्कालै अतिरिक्त बेड, जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ।
प्रदेश सरकार र सम्बन्धित निकायले तत्काल पहल नगरेसम्म समस्या झन् गम्भीर हुने चेतावनी स्थानीयले दिएका छन्।







