रुकुम पश्चिम, साउन ७ — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४, पीपलचौरस्थित भेरी कोरिडोर सडकखण्डमा मंगलबार साँझ भेरी नदीमा खसेको टिप्पर दुर्घटनामा हराएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ।
दाङका ३५ वर्षीय टिप्पर चालक मनिराम चौधरीको शव घटनास्थलदेखि धेरै टाढा, सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–२, खोची भन्ने स्थानमा फेला परेको हो। चौधरी सवार टिप्पर वडा नं. ११ को चिसापानी हुँदै छपोरेतर्फ गइरहेको बेला अनियन्त्रित भई नदीमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार दुर्घटनामा सवार अन्य दुई जना अझै बेपत्ता छन्। बेपत्ताहरूमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ का जेसिबी अपरेटर धनबिर बराइली र रुकुम पूर्व सिस्ने गाउँपालिका–८, स्यालापाखाका हरि बिक रहेका छन्।
दुर्घटनामा परेको टिप्पर (रा.१.क.१५०१) बुधबार बिहान घटना भएको स्थानबाट करिब पाँच मिटर तल पीपलचौर क्षेत्रमा अगाडिको भाग मात्रै फेला परेको थियो।
बेपत्ताहरूको खोजी कार्य नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा जारी रहेको प्रहरी स्रोतले जनाएको छ।







