रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ अन्तर्गत राडीबजार क्षेत्रमा पछिल्लो समय विभिन्न विकास निर्माणका गतिविधिहरू तीव्र रूपमा अगाडि बढेका छन्। विशेष गरी गोतामकोट, दाजे हुँदै क्याम्पस रोड जोड्ने सडकखण्डमा कालोपत्रे कार्य सुरु गरिएको छ। करिब तीन किलोमिटरभन्दा बढी सडकमा डामर गरिसकिएको र बाँकी भागको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ। यसले स्थानीय यातायात, बजार आवतजावत, र कृषिजन्य सामग्रीको ढुवानीमा सहजता ल्याउने विश्वास गरिएको छ।

यता, निर्माणको गुणस्तरप्रति देखिएको लापरवाहीका कारण केही खण्डमा नगरप्रमुखको टोलीले हस्तक्षेप गरेको छ। सिमेन्ट, गिट्टी र ढल निकास व्यवस्थापनको मापदण्ड पूरा नगरेको भन्दै निर्माणाधीन सडकको एक भाग डोजर लगाएर हटाइएको हो। नगरपालिकाले आगामी दिनमा कुनै पनि निर्माण कार्यमा सम्झौता नगर्ने स्पष्ट सन्देश दिएको छ।

सडकसँगै बजार क्षेत्रमा खाद्य सुरक्षाका विषयलाई लिएर पनि व्यापक अनुगमन कार्य थालिएको छ। बजारका पसलहरूमा मूल्यसूची टाँसिएको छ कि छैन, म्याद गुज्रेका सामान त छैनन् भनेर अनुगमन गर्दा केही पसलहरूमा कमजोरी देखिएको जनाइएको छ। यस्तै, विद्यालय र स्वास्थ्य संस्था नजिकै खुला स्थानमा फोहोर जलाउने कार्य हुँदा वातावरणीय प्रदूषण फैलिएको र बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै वडाले सचेतना अभियान पनि थालेको छ।

यसबीचमा राजनीतिक दलहरू बीचको असमझदारी र तनावका कारण राडीबजार केही समय अशान्त बनेको थियो। नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकटका कार्यकर्ताबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले अस्थायी निषेधाज्ञा समेत जारी गर्नुपरेको थियो। यद्यपि, स्थानीय समन्वय, प्रहरीको तत्परता र नागरिकको संयमताका कारण अहिले अवस्था सामान्य अवस्थामा फर्किएको छ।

यस्ता विविध चुनौतीबीच पनि स्थानीय सरकार, जनप्रतिनिधि, प्रहरी प्रशासन र नागरिकहरू सबैको सक्रियताले राडीबजारमा सकारात्मक परिवर्तनको संकेत देखिएको छ। विकासका काम अघि बढिरहेका छन्, कमजोरीमा सुधार गरिँदैछ र नागरिकहरूमा जनचेतना थप बढिरहेको छ। राडीबजार अब केवल एक व्यापारिक केन्द्र मात्र नभई, सचेत समाज निर्माणको दिशामा अघि बढिरहेको जीवन्त उदाहरण बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय