रुकुम पश्चिमको आठबिसकोट नगरपालिका पछिल्लो केही वर्षयता फलफूल उत्पादनमा उल्लेखनीय फड्को मार्दै गएको छ। यहाँका किसानहरू अब परम्परागत अन्न खेती मात्र नभई, किवी, स्याउ र आँप जस्ता व्यावसायिक फलफूलतर्फ आकर्षित हुँदैछन्।

स्थानीय कृषि प्राविधिकहरूका अनुसार, आठबिसकोटको भौगोलिक बनावट, हावापानी र माटोको संरचना यस्ता फलफूलको खेतीका लागि निकै अनुकूल छ।विशेषगरी वडा नम्बर ९, १० र ११ मा किवी, स्याउ र आँपको उत्पादन उल्लेखनीय रूपमा बढिरहेको छ।

वडा ९ मा आँप खेती विस्तार हुँदै गएको छ। गर्मी मौसममा फल्ने आँपले स्थानीय बजारमै राम्रो मूल्य पाइरहेको किसानहरूको भनाइ छ। वडा १० मा स्याउ खेतीको सुरुवात भइसकेको छ। पहाडी चिसो जलवायु भएकोले स्याउ राम्रोसँग फलिरहेको छ। किसानहरू उत्पादनले हौसिएका छन्, अझ बजारको व्यवस्थापन भएमा आम्दानी बढ्ने अपेक्षा गरिएको छ।

वडा ११ मा किवी खेती पहिलोपटक परीक्षणका रूपमा सुरु गरिएको थियो।
हाल सो खेतीले उत्पादन दिन थालेको छ र किसानहरू अन्य वडाबाट समेत हेर्न र सिक्न आउन थालेका छन्। बाँकी वडाहरूमा भने फलफूल खेतीको सम्भावना हुँदाहुँदै पनि योजनाको अभाव देखिएको छ। स्थानीय सरकार र सम्बन्धित निकायले ध्यान दिएमा यी वडाहरूमा पनि फलफूल खेतीको विकास सम्भव छ।

जनक बटाला भन्छन्, “हामीले सम्भावना देखेका छौं, अब योजना र साथ चाहिन्छ। यदि नगरपालिकाले प्रोत्साहन गर्‍यो भने, हामी आत्मनिर्भर मात्र होइन, निर्यातकर्ता पनि बन्न सक्छौं।”

यसरी अघि बढ्दै गएमा आठबिसकोट नगरपालिका निकट भविष्यमा फलफूल उत्पादनको नमुना क्षेत्र बन्न सक्ने देखिन्छ। यसले कृषिमा आत्मनिर्भरतासँगै स्थानीय रोजगारी र आर्थिक विकासमा पनि महत्वपूर्ण टेवा पु¥याउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय