रुकुम पश्चिम, – आठबिसकोट नगरपालिकाको वडा नं. १० अन्तर्गत मैडाँडा, झाँक्रिसल्ला, खालिगौरा, पाथीहाल्ना लगायतका गाउँहरू अहिले पनि अन्धकारमै छन्। बत्तीकै लागि वर्षौंदेखि पर्खिरहेकाहरू निराश भएका छन्। स्थानीयहरू भन्छन्, “विकास होइन, राजनीतिक पूर्वाग्रहकै कारण यहाँ बत्ती आउन सक्दैन।”
अध्यक्ष खडकजंग शाहमाथि आफ्ना विपक्षी समर्थकहरूको क्षेत्र भनेर बेवास्ता गरेको गम्भीर आरोप लागेको छ। स्थानीय रामबहादुर शाहले भन्नुभयो, “बुढाबुढीले बत्तीको सपना देखेर आँखा धमिलो भइसक्यो, अध्यक्षले हाम्रो कुरा सुन्दैन, सुन्छ भने पनि आफूलाई समर्थन गर्नेहरूको मात्रै।”
स्थानीय युवाहरू पनि आक्रोशित छन्। उनीहरू भन्छन्, “हाम्रो वडामा विद्युत् ल्याउनु अध्यक्षको कर्तव्य हो, तर उनले अझैसम्म एक पाइला पनि चाल्न सकेका छैनन्। बजेट छैन, प्रविधिक समस्या छ भनेर उही बहाना दोहोर्याइरहन्छन्।”
उता वडा नं. १, २, र ३ लाई विकट भनिए पनि त्यहाँ बत्ती गइसकेको छ। त्यहाँका जनप्रतिनिधिहरू सक्रिय भए, योजनाहरू कार्यान्वयनमा आए। तर वडा १० मा अध्यक्ष आफैं अनिच्छुक भएको स्थानीयहरूको ठम्याइ छ।
जनताको धारणा स्पष्ट छ—विकास पूर्वाग्रहले होइन, आवश्यकताले हुनुपर्छ। अब वडा नं. १० का नागरिकहरू आन्दोलनमै उत्रनुपर्ने अवस्थामा पुगेको स्थानीयहरुको भनाई छ।







