सुर्खेत, कात्तिक ६ : स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन्।

प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन्। जम्मा ७९ स्थानीय तहमा सात सय १८ वडा छन्। आठ स्थानीय तह रहेको डोल्पामा १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन्। यहाँका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन।

मुगुमा एक जिल्ला अस्पताल छ, भने २४ वटा स्वास्थ्य चौकी छन्। यहाँका चार स्थानीय तहमा कुनैमा आधारभूत अस्पताल निर्माण हुनसकेका छैनन्। हुम्लामा २६ वटा स्वास्थ्य चौकी छन् भने एउटा जिल्ला अस्पताल छ। यहाँ सात स्थानीय तह छन्।

जुम्लामा स्वास्थ्य चौकीको सङ्ख्या २९ छ। प्राथमिक स्वास्थ्य केन्द्र एउटा छ, जिल्ला अस्पताल छैन। सङ्घीय सरकार मतहातको कर्णाली स्वास्थ्य प्रतिष्ठान सञ्चालनमा छ। जसले कर्णालीमा स्वास्थ्य उपचार सहज बनाएको छ। यहाँ आठ स्थानीय तह छन्।

कालिकोटमा २७ स्वास्थ्यचौकी र जिल्ला अस्पताल एक रहेको छ। नौ स्थानीय तहमध्ये पाँच वटामा प्राथमिक अस्पताल छन्। दैलेखमा प्राथमिक अस्पतालको सङ्ख्या चार रहेको छ भने स्वास्थ्य चौकीको सङ्ख्या ५५ छ। यहाँ ११ वटा स्थानीय तहमा चार वटा प्राथमिक अस्पताल छन्।

जाजरकोटका सात स्थानीय तहमा तीन प्राथमिक अस्पताल र ३० वटा स्वास्थ्य चौकी रहेको स्वास्थ्य सेवा निर्देशनायलका सूचना अधिकारी नवराज कँडेलले जानकारी दिए।

छ स्थानीय तह रहेको रुकुम पश्चिममा सामान्य अस्पतालको सङ्ख्या एक रहेकोमा आधारभूत अस्पतालको सङ्ख्या चार छ भने एक जिल्ला अस्पताल छ । यहाँ चार निजी अस्पताल छन्।

१० स्थानीय तह रहेको सल्यानमा प्राथमिक अस्पतालको सङ्ख्या दुई र स्वास्थ्य चौकीको सङ्ख्या ४४ छ।

सुर्खेतमा एक कोभिड अस्पताल छ। एक सेकेण्डरी अस्पताल, एक जनरल, एक प्राथमिक, ४७ स्वास्थ्य चौकी र चार निजी अस्पताल छन् । तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र छन्। सुर्खेतमा नौ स्थानीय तह छन्।

२१ प्राथमिक अस्पताल रहेको कर्णालीमा तीन सय ३० वटा स्वास्थ्य चौकी छन्। सात जिल्ला अस्पताल र ११ प्राथमिक स्वास्थ्य केन्द्र छन् । ४८ स्थानीय तहमा अझै आधारभूत अस्पताल निर्माण हुनसकेका छैनन्।

भौगोलिक विकटताका कारण कर्णालीमा अझै सबै पालिकामा आधारभूत तह अस्पताल निर्माण हुन नसकेको जनाइएको छ । जसका कारण सर्वसाधारणले स्वास्थ्य उपचारको सहज सेवा प्राप्त गर्न सकेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय