साफ यू–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले विजयी हासिल गरेको छ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो। खेलको २४ औं मिनेटमा निराजन धामीले नेपालका लागि गोल गरेका थिए।
नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ । त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ।
प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाली सहयोग संगठन सार्कमा आवद्ध ६ देश सहभागी छन्। ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाईएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएपनि एएफसी च्यालेन्ज कप प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीच भएको खेलपछि मैदानको अवस्था राम्रो नभएको हुनाले खेलहरु एन्फा कम्प्लेक्समा गरिएको हो।







