भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको छ।
प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घट्नास्थलमै मृत्यु भएको हो।
तीव्र गतिको ट्रकले करिब एक सय परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ। घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन्।
दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन्। स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ।







