अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइसकेपछि सानफ्रान्सिस्कोस्थित विशाल वारफिल्ड हलको दुवै तल्लामा खचाखच भरिएका दर्शक उल्लासमा उफ्रिरहेकै थिए ।
मञ्चमा भएका कलाकारहरू हातेमालो गर्दै बिदाइ अभिवादनका लागि दर्शक अघिल्तिर बढे । अग्रभागमा रहेको कसैले नेपाली राष्ट्रिय झन्डा हल्लाइरहेको गायक अमृत गुरुङले देखे । साथीहरूलाई यथावत् छाडेर उनी सरासर अघि बढे र त्यो झन्डा समातेर सुरुमा आफूले ओढे अनि बाँकी सदस्यलाई समेत ढाकिदिए । त्यो दृश्यले हजारौँ दर्शकबीच उत्साह र उमंगको भेल बगे जस्तो भयो।
‘यसैगरी खुसी भएर बस्नुस्,’ अमृतले बिदाइको हात हल्लाउँदै भने, ‘नेपाली भाषा र पहिचानलाई जोगाएर बस्नुहोला है ।’
नेपथ्यले थालेको शृंखलाबद्ध अमेरिका यात्राको दोस्रो प्रदर्शन अमेरिकाको पश्चिमी तटीय सहर सानफ्रान्सिस्कोको प्रसिद्ध वारफिल्ड हलमा भव्य रूपमा सम्पन्न भएको छ । यस हलमा ब्यान्ड, दोस्रोपटक प्रस्तुत भएको हो । अघिल्लोपटक आठ वर्षअघि नेपथ्य यसै हलमा उभिएको थियो । सय वर्षभन्दा पहिले सिनेमा देखाउने उद्देश्यका साथ तयार पारिएको यो सिनेमाहल कालान्तरमा मञ्चमा परिणत भयो ।







