पूर्वगृहमन्त्री रवि लामिछाने र जीबी राई जोडिएको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेका छन्।
बुटवलबाट प्रदेश राजधानी दाङ पुगेर पीडितले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेका हुन्। पीडितले मुख्यमन्त्रीलाक्षर्् ज्ञापनपत्र बुझाएपछि घेराउ र नाराबाजी गरेका छन्।
उनीहरुले वचत फिर्ताको सुनिश्चित नभएसम्म चरणवद्ध आन्दोलन गर्ने बताएका छन्। झण्डै दुई हजार वचतकर्ताहरूले सुप्रिम सहकारीमा पौने एक अर्ब रकम जम्मा गरेको दाबी गरेका छन्।
बचत फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै पीडितहरु आन्दोलित भएका हुन्। पीडितले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा पनि ज्ञापनपत्र बुझाएका छन्।
हाल मुख्य आरोपी दाबी गरिएका पूर्वअध्यक्ष जीबी राई र बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसी लगायत ९ जना फरार छन्। प्रहरीले राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको दाबीसहित अदालतमा मुद्दा समेत दायर गरिसकेको छ।







