वेस्ट स्प्रिङफिल्ड (अमेरिका), सेप्टेम्बर १५।भुटानी ख्रीष्टियनहरूको साझा संस्था भुटानी चर्चेस अफ न्युइङ्ग्ल्याण्ड (बीसिएनई) को आयोजनामा हुने वार्षिक सम्मेलन २०२५ यही सेप्टेम्बर २७, शनिबार बिहान १० बजे वेस्ट स्प्रिङफिल्ड, म्यासाचुसेट्समा हुने भएको छ।

यस पटकको सम्मेलनलाई १२ वटा भुटानी चर्चहरूको संयुक्त आयोजनामा भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ। सम्मेलनमा स्तुति–आराधना, प्रार्थना, वचन प्रवचन, आत्मिक अनुभव बाँडफाँट र मेलमिलापलाई विशेष प्राथमिकता दिइने भएको छ।

आयोजक समितिका अनुसार सम्मेलनको मूल विषय (थीम) “उठ र चम्क” (यशैया ६०:१) रहेको छ। कार्यक्रममा प्रमुख वक्ताको रूपमा पास्टर राजु रामदाम र डा. ओलक सुनुवार उपस्थित हुने छन्।

समुदायलाई आत्मिक रूपमा एकजुट पार्ने, विश्वासमा वृद्धि गर्ने र नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विशेष गरी बिहान ९ बजे खाजाको व्यवस्था गरिएको छ भने दिउँसो १ बजे भोजन ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्ने लक्ष्य राखिएको बीसिएनईका सचिव लोक सिवा ले जानकारी दिनुभयो। उहाँका अनुसार, “यो सम्मेलनमा सहभागिता जनाउने सम्पूर्ण भुटानी–नेपाली ख्रीष्टियन समुदायले आत्मिक आशीष मात्र होइन, आपसी मेलमिलाप र सम्बन्धलाई अझ गाढा बनाउन पाउनेछन्।”

बीसिएनईले सम्पूर्ण भुटानी–नेपाली ख्रीष्टियन समुदायलाई उक्त कार्यक्रममा सहभागी भई आत्मिक आशीष ग्रहण गर्न हार्दिक निम्तो गरेको छ।

थप जानकारीका लागि आयोजकले सम्पर्क नम्बरहरू उपलब्ध गराएको छः ४१३–२५०–८०४१ / ४१३–२०४–९३३६ / ४१३–४७८–८४५७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय