प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउने कोसिस भइरहेको बताएका छन्। उनले संविधान धार्मिक ग्रन्थ जस्तो वेद, बाइबल र कुरान जस्तो असंशोधनीय बिषय नरहेको बताए।
प्रधानमन्त्री ओलीको आफूहरूले स्टन्टबाजीको रूपमा कुनै पनि काम नगर्ने समेत बताए। एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण समारोहमा बोल्नेक्रममा प्रधानमन्त्री ओलीले यस्तो भनाई राखेका हुन्।
सरकार र वर्तमान सत्ता गठबन्धनले भ्रम सिर्जना गर्नेगरी काम नगर्ने पनि ओलीले बताए। संविधानलाई वेद, बाइबल, कुरान जस्तो असंशोधनीय दस्ताबेजको रूपमा प्रस्तुत गर्न खोजिएको बताउँदै ओलीले त्यसको भ्रममा नपर्न समेत आग्रह गरे।
‘लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले अहिले पनि हाम्रो विरुद्ध भ्रम फिँजाउने कोसिस गरिरहेका छन्। हामीले संविधान संशोधन गर्नुपर्छ भन्यौँ । यो धार्मिक ग्रन्थ जस्तो वेद हो कि, बाइबल हो कि, कुरान हो कि जस्तो असंशोधनीय विश्वास मात्रै गर्न पर्ने, फेर्न नपाइने ग्रन्थजस्तो गरेर व्याख्या गर्न खोज्ने कार्य भएको छ।’
नेपाली कांगेस र नेकपा एमाले लोकतन्त्रका लागि लडेर आएका पार्टीहरू भएकाले पपुलिष्ट हुनका लागि अथवा कुनै स्टन्टबाजीको रूपमा कुनै पनि काम नगर्ने भनाई ओलीको थियो। प्रधानमन्त्री ओलीले कार्यक्रममा देश र जनतालाई सुखी र समृद्ध बनाउने लक्ष्य अनुसार सरकार अघि बढिरहेको भनाई समेत राखे।