कास्की — कास्कीको मादी गाउँपालिका–१२ का वडाध्यक्ष कृष्णराज दाहाल अमेरिका गएका एक वर्ष बितिसक्दा पनि कार्यक्षेत्रमा नफर्किएको खुलासा भएको छ।
श्रीमतीको डिभी परेपछि गत असारमा ‘केही दिनमै फर्कन्छु’ भन्दै अमेरिका गएका दाहालले वडा सञ्चालनको जिम्मा वडा सदस्य लक्ष्मी गिरीलाई कार्यवाहकका रूपमा सुम्पिएका थिए। तर, गिरीका अनुसार वडाध्यक्ष दाहाल गएको एक वर्षसम्म फर्किएका छैनन्, न त कुनै स्पष्ट जानकारी छ।
गिरी भन्छिन्, “हामीलाई भनिएको थियो एक हप्ता भनेर। तर उहाँ अहिलेसम्म फर्किनु भएको छैन, सम्पर्क पनि खासै छैन। यसले वडाको काम प्रभावित भएको छ।”
स्थानीयबासीले जनप्रतिनिधिको यस्तो गैरजिम्मेवार व्यवहारप्रति गुनासो गर्दै आएका छन्। गाउँपालिकाले समेत यस विषयमा कुनै आधिकारिक जानकारी नपाएको बताइएको छ।
स्थानीय तहको नेतृत्व गरिरहेका जनप्रतिनिधि नै जिम्मेवारी छाडेर विदेश बस्दा लोकतान्त्रिक प्रणाली र स्थानीय प्रशासनमा असर पर्ने देखिएको छ। अब यस विषयमा पालिकाले के कदम चाल्नेछ भन्ने प्रतीक्षामा छन् सर्वसाधारण।







