टेक्सस, सुरक्षित भविष्यको खोजीमा लाखौँ रकम खर्चिएर अमेरिका पुगेका रुकुम पश्चिमका एक युवक अमेरिकामा मारिएका छन् । आफ्नो र परिवारका सदस्यको सुरक्षित भविष्यको खोजी गर्दै अनेकौँ दुःख कष्ट सहेर लाखौँ खर्च गर्दै अमेरिका पुगेका जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १० सेजेका ३० वर्षीय दीपक ओली लुटेराबाट मारिएका हुन् ।
अमेरिकाको टेक्ससको एक ग्यास स्टेसनमा कार्यरत ओलीलाई अमेरिकाको स्थानीय समय आइतबार बिहान ५ बजेतिर दुई जना लुटेराले गोली हानी हत्या गरेका हुन् । स्टोरमै रहेका उनलाई दुई जना बन्दुकधारी लुटेराले गोली हानी मारेको बताइएको छ । ओली टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत थिए ।
लुटेराहरूले स्टोरमा पसेर गोली प्रहार गर्दा उनको घटनास्थलमै निधन भएको बताइएको छ । गत वर्ष मात्र अमेरिका पुगेका ओलीको घरमा ५ बर्सिया छोरी, श्रीमती र आमा बुवा रहेका छन् । यो परिवारको आधार खोसिएको छ । उक्त लुटेरा समूहले यो घटना अघि सोही ठाउँको अर्को ग्यास स्टेसनमा पनि लुटेको बताइएको छ । उक्त स्टेसनमा पनि नेपाली नै कार्यरत थिए । त्यहाँ भने लुटेराले कुटपिट मात्र गरेको र गोली भने प्रहार गरेका थिएनन् ।
अमेरिकामा गोली काण्ड र लुटपाटका घटना बढ्दो क्रममा छन् । जसका कारण हजारौँ नेपालीहरू असुरक्षित रहेका छन् । अवैध तथा वैध बाटो हुँदै अमेरिकामा हजारौँ नेपालीहरू छन् । त्यसमा रुकुमको सङ्ख्या पनि ठुलो रहेको छ । बर्सेनि हुने यस्ता घटनामा परि नेपालीले ज्यान गुमाइरहेका छन् ।