काठमाडौँ । लामो समयदेखि चलिरहेको राजनीतिक छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ७ बुँदे महत्वपूर्ण सहमति भएको छ। मध्यरातिसम्म चलेको वार्ताबाट निष्कर्षमा पुगेको यो सहमतिलाई वैकल्पिक राजनीतिको नयाँ मोडका रूपमा हेरिएको छ।

सहमति अनुसार रास्वपाका सभापति रवि लामिछाने पार्टी नेतृत्वमा रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइने भएको छ।

सहमतिले भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले उठाएको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहिद परिवारका मागलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। साथै, गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ।

बृहत् एकतापछि पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, चुनाव चिन्ह ‘घण्टी’ यथावत् राख्ने तथा केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमतिमा उल्लेख छ। पार्टी संगठनलाई अझ सशक्त बनाउने उद्देश्यले युवा अभियन्ता र अनुभवी विज्ञलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने निर्णय गरिएको छ।

आगामी आमनिर्वाचनपछि सहमति अनुसारका सम्पूर्ण दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका एजेन्डामा गोलबद्ध हुन अन्य परिवर्तनकामी शक्ति, समूह र व्यक्तिहरूलाई समेत आह्वान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय