राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि, रास्वपा, र सहकारी यही तीन खम्वामा राजनीति अड्किदा सरकार प्राकृतिक प्रकोपको सामनामा चुकेको निस्कर्ष निकालेको छ ।
आइतबार बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले पत्रकारहरुसँग कुराकानी गर्दै सरकार, गठबन्धन, गठबन्धन आवद्ध राजनीतिक दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति सबै ‘रवि, रास्वपा, र सहकारी’ यही तीन खम्वामा अड्किएको कारण प्राकृतिक विपत्ति आउँदैगर्दा सामना गर्न कोही तयार नभएको बताए।
‘सहकारीको विषयमा पटक–पटक धेरै चर्चा गरिसक्यौं। अब देश र राजनीति योभन्दा अघि बढेहुन्थ्यो भन्ने हाम्रो धारणा हाे। सबै यसैमा अड्किंदा मूल्य के हुन्छ भन्ने कुरा पनि देख्यौं। सरकार, गठबन्धन, गठबन्धन आवद्ध राजनीतिक दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति सबै यही तीन खम्वामा अड्किएको थियो योबाहेक अरु कसैले केही सोचिराखेको थिएन,’ उनले भने,‘त्यसैले यस्तो प्राकृतिक विपत्ति आउँदैगर्दा कोही तयारी अवस्थामा थिएनन्। त्यसैले आवश्यक परेको बेला के गर्नुपर्छ सरकारी संयन्त्रले भन्ने कुरामा चुक्यो।’
त्यस्तै उनले मोबाइलको रिङटोन बजाउँदैमा राज्यसंयन्त्रको जिम्मेवारी पूरा नहुने भन्दै सरकारको असक्षमता र अकर्मण्यता देखिएको बताए। दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाएको भन्दै उनले पहिलो र दोस्रो दल चुनौती पार लगाउने काममा नभइ बालेन, हर्क, कुलमानलाई लखेट्न मात्र बनेको उनले आरोप लगाए।
‘हामीले सरकारको असक्षमता र अकर्मण्यता देख्यौं। मोबाइलको रिङटोन बजाउँदैमा राज्यसंयन्त्रको जिम्मेवारी पूरा हुँदैन। जोखिम हुनेछ भन्ने आँकलन पहिल्यै थियो तर काम भएन। राजनीतिक टिप्पणी नै गर्ने हो भने दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखायो,’ उनले भने, ‘पहिलो र दोस्रो दल मिलेर जस्तोसुकै चुनौति पार लगाउनसक्छ भन्ने सोचेको थियौं। तर, यो गठवन्धन त बालेन, हर्क, कुलमानलाई लखेट्न मात्र बनेको रहेछ। खोइ त तयारी?’







