राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा.मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। उनलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेसँगै ढकालले शुक्रबार स्पष्टीकरणको जवाफ दिएका हुन्।
जवाफ लेख्दै उनले आफूले पार्टी हितविपरीत कार्य नगरेको बरु रास्वपा जोगाउन लागिपरेको दाबी गरेका छन्। साथै ढकालले सभापति रवि लामिछानेमाथि आरोप नै आरोपसमेत लगाएका छन्।
‘रवि लामिछाने तपाईं ठग, भ्रष्टाचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्नसक्छु। कारवाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्,’ उनले स्पष्टीकरणमा लेखेका छन्, ‘तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन, यो पार्टी हितमा हो। राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ। पार्टीभित्र मात्र सिमित हुँदैन। तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु।’
सहकारी मुद्दामा सभापति लामिछाने ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने उनले बताएका छन्। भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्ने उनको जवाफ छ।
‘राहदानी दुरुपयोगमा तपाईंले कहिले निर्वाचनमा भाग लिन पाउनुहुन्न। सँगै अन्य धेरै ठाउँमा किर्ते, ठगीमा संलग्न हुनुहुन्छ। आफू ठगी, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईं दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ,’ उनले लेखेका छन्।
रविले आम पार्टी सदस्य एवं नेताको राजनीतिक भविष्यलाई आफ्नो नीहित स्वार्थका लागि प्रयोग गरिरहेको बताउँदै पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले आफ्नो कर्तव्य भएको उनले उल्लेख गरेका छन्।
सभापति लामिछानेले आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पारेको उनले आरोप लगाएका छन्। प्रश्न गर्नेलाई कारवाहीको डन्डा चलाउने दुस्साहस गरेको पनि बताएका छन्।







