रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ८ मा हिजो सम्पन्न नेपालि कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी कार्यक्रममा बालबालिकाको उल्लेख्य उपस्थिति देखिएपछि स्थानीय स्तरमा तीव्र बहस सुरु भएको छ। कार्यक्रमका उम्मेदवार गोपाल शर्मा अनलको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा ठूलो सङ्ख्यामा बालबालिका अगाडिको पङ्क्तिमा राखिएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै विषयले गम्भीर रुप लिएको हो।

बालअधिकारसम्बन्धी प्रचलित कानुनी व्यवस्थाले बालबालिकालाई राजनीतिक प्रचार प्रसार, जुलुस, नाराबाजी वा दलगत गतिविधिमा प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ। यदि कुनै दल वा उम्मेदवारले सचेत रूपमा बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग गरेको प्रमाणित भएमा, सम्बन्धित निकायले स्पष्टीकरण माग्ने, चेतावनी दिने, जरिवाना गर्ने वा गम्भीर प्रकृतिको भए उम्मेदवारीसमेत खारेज गर्नेसम्मको कारबाही गर्न सक्ने कानुनी प्रावधान रहेको जानकारहरू बताउँछन्।

यस घटनालाई लिएर अर्को प्रश्न पनि उठेको छ।कार्यक्रमस्थलमै उपस्थित केही स्थानीय पत्रकारहरूले यस विषयलाई सार्वजनिक नगरेको आरोप लागेको छ। यदि सार्वजनिक सरोकारको विषयलाई जानाजान बेवास्ता गरिएको हो भने पत्रकारिताको जिम्मेवारीमाथि समेत प्रश्न उठ्ने स्थानीयको भनाइ छ। समाचार लुकाउने वा एकतर्फी प्रस्तुत गर्ने कार्यले लोकतन्त्रको आधार कमजोर बनाउने सरोकारवालाको चेतावनी छ।

राजनीति विचार र एजेण्डामा केन्द्रित हुनुपर्नेमा निर्दोष बालबालिकालाई अगाडि सारेर सहानुभूति बटुल्ने प्रयास भए त्यो न नैतिक हो न कानुनी। सम्बन्धित उम्मेदवार तथा दलले यसबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग बढ्दो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय