महालक्ष्मी नगरपालिका, ललितपुर — स्थानीय सरकारको योजनाहरू जनताको हितमा प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन् कि छैनन् भनेर सुनिश्चित गर्न नगर उपप्रमुख लक्ष्मी महर्जन निरन्तर स्थलगत अनुगमनमा सक्रिय देखिएकी छन्।
करिब दुई हप्ता अघिको निरीक्षण भ्रमणमा, उपप्रमुख महर्जनले वडा नं. ६, सिद्धिपुरस्थित “ध गुठी भवन” मा निर्माण सम्पन्न भइसकेको पूर्वाधारको स्थलगत अवलोकन गरेकी थिइन्। महालक्ष्मी नगरपालिकाको बजेटबाट निर्माण सम्पन्न भएको सो भवन अब सामाजिक र सामुदायिक प्रयोजनका लागि प्रयोग हुने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा महर्जनले भवनको गुणस्तर, पूर्वाधारको उपयोगिता र आवश्यक सुधारको पक्षमा गम्भीर चासो देखाएकी थिइन्। उक्त भवन स्थानीय कार्यक्रम, महिला समूहको गतिविधि र सार्वजनिक सेवाका कार्यहरू सञ्चालन गर्नका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरिएको थियो।
उपप्रमुख महर्जनले त्यसबेला भनेकी थिइन् —“हामी योजना निर्माणमा मात्रै होइन, कार्यान्वयन र अनुगमनमा पनि बराबर सक्रिय छौं। विकासको काम जनताले प्रत्यक्ष अनुभव गर्न सक्नुपर्छ।”
उनको यो स्थलगत सहभागिताले नगरबासीको विश्वास जित्न र योजनाहरू पारदर्शी रूपमा सम्पन्न गर्न मद्दत गरिरहेको छ।
महर्जनको नेतृत्वमा विकासको गति
नगर उपप्रमुख महर्जनले पछिल्लो केही समयदेखि विभिन्न वडाहरूमा सञ्चालनमा रहेका सडक, भवन, खानेपानी योजना, शौचालय निर्माण र सार्वजनिक संरचनाहरूको निरन्तर अनुगमन गर्दै आएकी छन्। उनका स्थलगत निरीक्षणहरू नगर विकासमा सक्रिय, उत्तरदायी र पारदर्शी नेतृत्वको परिचय बनेका छन्।







