रुकुम पश्चिमको आठबिसकोट नगरपालिका अन्तर्गत राडीबाट दाजे जाने क्रममा दाजे नजिकैको सडक खण्डमा सवारी साधनले यात्रुहरूलाई अत्यन्तै लापरबाही र गैरजिम्मेवार तरिकाले ओसारपसार गरेको पाइएको छ।
सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको बेला गाडीको छत र पछाडितर्फ क्षमताभन्दा धेरै यात्रु राखिएको देखिन्छ, जसले कुनै पनि बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने खतरा बढाएको छ। तस्वीरमा स्पष्ट देखिएझैँ यात्रुहरू समात्न पनि गाह्रो हुने गरी झुन्डिएर यात्रा गर्न बाध्य छन्, जुन सिधै मानवीय ज्यानसँग खेलवाड हो।
यस्तो खुला उल्लंघन भइरहँदा पनि ट्राफिक प्रहरी र सम्बन्धित सुरक्षा निकाय मौन बस्नु गम्भीर लापरबाही हो। के दुर्घटना भएपछि मात्र कारबाही हुने हो ?
प्रहरी प्रशासनले तत्काल अनुगमन, चेकजाँच र कडा कारबाही नगरेसम्म यस्ता घटना दोहोरिरहने निश्चित छ।आठबिसकोट नगरपालिकाका जनप्रतिनिधि र सरोकारवाला निकायहरू जनताको सुरक्षाप्रति किन उदासीन छन् ?
विकासका भाषण मात्र गरेर हुँदैन, नागरिकको ज्यान जोगाउने काम पहिलो प्राथमिकता हुनुपर्छ।सम्बन्धित सवारी चालक र धनीमाथि तत्काल कानुनी कारबाही गरियोस्।







