रुकुम पश्चिम । ठूला चाडपर्व दशैं–तिहार नजिकिँदै गर्दा पनि रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले करार शिक्षकलाई तलब वितरण गर्न सकेको छैन। महिनौँदेखि तलब नपाउँदा करार शिक्षकहरू तनावमा छन् भने परिवार पाल्न र चाडपर्व मनाउनसमेत गाह्रो परेको छ।

शिक्षकहरू भन्छन्, “दशैं–तिहार आयो अब त तलब आउला, बालबच्चा र परिवारलाई नयाँ लुगा, मीठो–मसिनो खान पर्ला भन्ने आशा गरेका थियौँ। तर आधा वर्ष बितिसक्दा पनि तलब आएको छैन।”

२०७८ साल बैशाखदेखि अहिलेसम्म ५/६ महिनाको तलब नआएको शिक्षकहरूको गुनासो छ। तलब समयमा नआउँदा उनीहरू मानसिक दबाबमा परेको र सामाजिक रूपमा पनि असहज भएको बताएका छन्।

यो समस्या भने यसपालि मात्रै होइन, अघिल्ला वर्षहरूमा पनि दोहोरिँदै आएको शिक्षकहरूको गुनासो छ। उनीहरूका अनुसार हरेक वर्ष दशैं–तिहारकै बेलामा तलब वितरणमा ढिलाइ हुने गरेको छ।
“हरेक वर्ष चाडपर्व आउँदा यही समस्या हुन्छ, हामीलाई परिवारसँग खुसीसँग चाड मनाउने अधिकार नै खोसिएको जस्तो लाग्छ,” शिक्षकहरूको आक्रोश छ।

करार शिक्षकहरू भन्छन्, “यदि तलब समयमा आएको भए दशैं–तिहार सजिलै पार गर्न सकिन्थ्यो। तर पटक–पटक उही समस्या दोहोरिँदा अब त हामी निराश हुन थालेका छौँ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय