पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गिरीबन्धुको मुद्दा उठाउँदा आफूले सत्ता छाड्नु परेको बताएका छन्।
झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष दाहालले गिरीबन्धुको मुद्दा उठाउँदा सत्ताबाट हट्नुपरेको भन्दै समस्या समाधानका लागि सकारात्मक रहेको बताए।
ध्यानाकर्षण पत्रमा उनीहरूले मन्त्रीस्तरबाट निर्णय भएर लामोसमयदेखि कारोबार भइरहेको सो जमिनको विषयमा उत्पन्न अन्यौलता अन्त्य गर्न माग गरेका छन्।
सर्वोच्च अदालतले गिरीबन्धुुको स्वामित्वमा रहेको ३४३ बिगाहा जमिनको सट्टा–पट्टा दिने निर्णय उल्टाएको छ।
सो मुद्दाको पुर्णपाठमा २०६१ सालमा सट्टा पट्टा दिने निर्णय गरिएको सुदर्शन गिरीको स्वामित्वको ५१ बिगाहा जमिनलाई पनि गिरीबन्धुकै जमिनका रुपमा गणना गर्नु भन्ने उल्लेख छ।
अदालतको सो आदेशपछि तत्कालीन अवस्थामा किनबेच भएको सो जमिनको कारोबारमा मालपोत कार्यालयले रोक लगाएको छ। जमिनको कारोबारमा रोक लगाएपछि त्यहा रहेका ५ सयभन्दा बढी घरधुरी अन्यौलमा परेका छन्।







