क्रिकेट रंगशाला निर्माणलाई महत्त्व दिइरहेका प्रधानमन्त्री केपी ओलीले क्रिकेटरदेखि कलाकारसम्मलाई एकै ठाउँमा राखेर छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीले आइतबार क्यानका पदाधिकारी, खेलाडी र कलाकारहरूलाई बोलाएर रंगशाला निर्माणसम्बन्धी छलफल गरेका हुन्। प्रधानमन्त्री ओलीले यसको जानकारी समाजिक सञ्जाल मार्फत दिएका छन्।
सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उनले भेटघाटबाट आफू उत्साहित भएको बताएका छन्। यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउने काममा सहयोग मिल्ने उनको भनाइ छ।
छलफलमा क्यान सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामा, पूर्वराष्ट्रिय खेलाडी शक्ति गौतम, क्रिकेटरहरू कुशल भुर्तेल, सन्दीप जोरा, सागर ढकाल, कुशल मल्ल, कलमसिंह ऐरी र ललित राजवंशी सहभागी थिए।
यस्तै, गायक बद्री पंगेनी, प्रकाश सपुत, गायिका रचना रिमाल, अभिनेत्रीहरू केकी अधिकारी, नीति शाह, मिरुना मगरलगायत सहभागी थिए।
बैठकमा क्रिकेट रंगशाला निर्माणमा प्रधानमन्त्रीले दिएको तदारुकतालाई लिएर क्यान सचिव पारस खड्का र खेलाडीहरूले आभार प्रकट गरे।







