पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतिहासले सुम्पेको कार्यभार सबैले मिलेर पूरा गर्न आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उक्त आग्रह गरेका हुन्।
सभापति देउवाले मुलुकलाई अप्ठ्यारो पर्दा सबै राजनीतिक दल एक ठाउँमा उभिएर समाधान दिने नेपालले विशिष्ट शैली अपनाउने गरेको पनि बताए । संक्रमणकालीन न्याय निरुपण र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिएको भन्दै देउवाले खुशी पनि व्यक्त गरे।
यस्तै, देउवाले सशस्त्र द्वन्द्वको बेला भएका घटनाहरूले नेपाली समाजमा पीडा दिएको स्मरण समेत गरे । लामो समयदेखि द्वन्द्वपीडितहरू न्यायको खोजीमा बसेको बताउँदै उचित परिपूरण हुन नसकेका कारण पीडित स्वयं र परिवारजनले थप पीडा व्यहोर्नु परेको भनाई समेत राखे।
देउवाले एकअर्कालाई शंका वा आरोपित गर्न उचित नहुने भनाई पनि राखे। सभापति देउवाले भने, ‘आउनुहोस्, इतिहासले सुम्पेको यो कार्यभार मिलेर पूरा गरौँ । मुलुकलाई अप्ठ्यारो पर्दा सबै राजनीतिक दल एक ठाउँमा उभिएर समाधान दिने नेपालले विशिष्ट शैली अपनाउने गरेको छ । संक्रमणकालीन न्याय निरुपण र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न पनि सबै राजनीतिक दल एक ठाउँमा उभिएका छौँ ।’
संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने विन्दुमा पुग्दै गर्दा नेपाललाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको भनाई समेत देउवाले राखे । विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति र परिपूरण दिलाउने व्यवस्था गरेको पनि बताए।
देउवाले संवोधनका क्रममा अघि भने, ‘विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी कानुनहरूलाई समेत ध्यानमा राख्दै शान्ति प्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्याय टुंगोमा पु¥याउने विषय निष्कर्षमा पुगेको छ । यस विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने हाम्रो विश्वास छ।’
टीआरसी विधेयक प्रचलित कानून, सर्वोच्चको फैसला र अन्तराष्ट्रिय मापदण्ड अनुकूल रहेको पनि बताए । विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानूनहरूलाई समेत ध्यानमा राख्दै शान्ति प्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्याय टुंङ्गोमा पु¥याउने विषय निष्कर्षमा पुगेको बताउँदै उनले भने, ‘यस विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने हाम्रो विश्वास छ ।’
समग्रमा शान्ति प्रक्रियाको बाँकी रहेको अध्यायलाई विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेको भनाई उनको थियो । विधेयक आफैँमा एउटा ऐतिहासिक उपलब्धि हो भन्दै देउवाले शान्ति प्रक्रियाको बाँकी रहेको काम संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न कानूनका साथै सक्षम आयोगहरू गठन गर्नुपर्ने आवश्यकता पनि देउवाले औंल्याए ।







