रोशन परियार
आमाको छातीबाट छुटेँ
जहाँ मेरो सुरक्षित घर थियो
बाको पाउबाट टाढिएँ
जहाँ मेरो श्रद्धाको मन्दिर थियो
आफ्नाहरूबाट टाढिएँ
जसले मेरो स्वाद र स्वभाव बुझ्थे
डाँडो काटेँ , खोलाले बिर्सियो
आँगन काटेँ , बचपनले बिर्सियो
गाउँ छोडेँ , छिमेकीले बिर्सिए
फर्केर हेरिनँ , बाटोले बिर्सियो
सबथोक छोडेँ
छुट्नेहरू सबैलाई बिर्सिएँ
एउटा तिमी पाउन
मैले मलाई पनि बिर्सिएँ।