रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा सञ्चालन भइरहेको छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ सम्बन्धी महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरिएको छ।

मिति २०८२/१०/०७ गते शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्री इन्द्रबहादुर बिष्टको अध्यक्षतामा बसेको राष्ट्रपति रनिङ्ग शिल्ड २०८२ को सचिवालय बैठकले विभिन्न उजुरी र तथ्यका आधारमा निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार, मिति २०८२/१०/०४ गते सम्पन्न एथलेटिक्स विधाअन्तर्गत १०० मिटर र २०० मिटर दौडमा जानकी महताराको नाममा सहभागी खेलाडी वास्तवमा बिमला महतारा भएको पुष्टि भएपछि उक्त खेलाडीले प्राप्त गरेको स्वर्ण पदक खोस्ने निर्णय गरिएको छ।

त्यस्तै, कालिका माध्यमिक विद्यालय, सुन्दरपानीले बसन्त नेपाली र रमेश गरुङको उमेरसम्बन्धी उजुरी दर्ता गराएपछि ती दुवै खेलाडीलाई मिति २०८२/१०/०८ गते बिहान ८ बजेसम्म सक्कल जन्मदर्ता प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र प्रमाण पेश गर्न नसकेमा सम्बन्धित विधाबाट प्राप्त स्वर्ण पदक खोस्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा हि. मा. वि. दाजेका प्रधानाध्यापक नवराज बुढा, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख इन्द्रबहादुर बिष्ट तथा सन्देश वि. क., अध्यक्ष, खेलकुद विकास समिति, आठबिसकोट नगरपालिका रुकुम पश्चिमको उपस्थिति रहेको थियो।

नगरपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई पारदर्शी, निष्पक्ष र मर्यादित बनाउन आवश्यक कदम चालिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय