अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन्।
गए राति सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक पुरुषतर्फ फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३–२ को सेटले जितेको थियो। नेपालको कर्णाली प्रदेशअन्तर्गत रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडी रुकुम टिममा सम्मिलित छन् भने सुदूरपश्चिम प्रदेशबाट अमेरिका आई टेक्सासमै बसोबास गर्ने खेलाडी सजनी टिममा समावेश छन्।
प्रथम हुने रुकुम टिमले १० तोला सुनको गोल्डकप र १२ हजार डलर जितेका छन्। उनीहरूलाई आयोजक संस्था ‘इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’का अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार हस्तान्तरण गरे।
त्यसैगरी महिला भलिबलतर्फ मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमण्टले जितेको छ। नेपाली राष्ट्रिय खेलाडी सिपोरा गुरुङ र रमिला तण्डुकार सम्मिलित बेलमण्टले १० तोला सुनको गोल्डकप र नौ हजार डलर प्राप्त गरे।
यसैगरी प्रतियोगितामा पुरुषतर्फ उपविजेता बनेको सजनी टिमले आठ हजार डलर र महिलातर्फको उपविजेता बिवाइएससी मिनीसोटाले छ हजार डलर पुरस्कार प्राप्त गरेका छन्।
खेलको नियमानुसार सुनको ट्रफी हात पार्न लगातार तीनपटक जित्नुपर्ने थियो।। पुरुष विजेता रुकुम टिम र महिला विजेता बेलमण्टले लगातार दुईपटक इन्ट्रा कप भलिबल प्रतियोगिता जितिसकेका छन्। अब एकपटक दुवै टिमले जिते सुनको ट्रफी यी टिमले लग्नेछन्।
पुरस्कार वितरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले खेल जितेर पुरस्कार रकम, ट्रफी र कपमात्र लिएर खेलाडी फर्किएको नभई नेपालीपन, नेपाली मन र नेपाली जातीय एकतालाई मजबुद बनाएको बताए।
उनले नेपालीपन र नेपाली सांस्कृतिक एकतालाई संसारभर मजबुद बनाउन फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करण सन् २०२५ मा देखि सुरु गर्ने बताए।
पुरस्कार वितरण गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपालीपन र नेपाली मनलाई अमेरिकामा एकताबद्ध बनाई खेलकुद प्रतियोगिता गराएकामा आयोजक संस्थाको प्रसंशा गरे।
प्रतियोगितामा महिलातर्फ बेलमण्टकी सिपोरा गुरुङ र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का घोषित भएका थिए। –––







