काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी रकम हिनामिना प्रकरणमा थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
आइतबार जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले रविको हिरासत बसाई थप १३ दिन लम्ब्याउन प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले अनुसन्धानका लागि अदालतसँग थप २५ दिनको समय माग गरेको थियो ।
यसअघि पछिल्लो पटक दिएको म्याद शनिबार राति सकिएको थियो । रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि थप १३ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
उनीहरुविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा चलाउने प्रहरीको तयारी छ । nepalviews